हाम्रो बारेमा

महाभारत श्रृङ्खला भन्दा माथि मध्य पहाडका २६ जिल्लाहरु तथा २१५ वस्तीहरुलाई जोड्ने गरी रेखाङ्कन भएको यस राजमार्गले करिब ५० लाख जनताहरुलाई प्रत्यक्ष यातायात सुविधा पुर्‍याउने देखिन्छ । यसबाट हुने सुविधाको कारण उक्त क्षेत्रको आर्थिक, सामाजिक विकासमा प्रगति हुने साथै सो क्षेत्रबाट हुने बसाई सराई निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुनेछ । यस राजमार्गको रेखाङ्कन भित्र पर्ने विभिन्न जिल्लाहरुमा नेपाल सरकारको १० वटा आधुनिक शहरहरु विकास गर्ने लक्ष्य समेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसरहरु सृजना हुने र सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ । यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरु समेत यातायात पूर्वाधारको आभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुनेछ । राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक, सामाजिक सूचकहरुको उल्लेख्य रुपमा परिवर्तन हुने संकेत देखिएको हुँदा यो राजमार्ग एउटा रुपान्तकारी योजना हुन सक्ने अपेक्षाका साथ नेपाल सरकारले आ.व. २०६९/०७० देखि यो आयोजनालाई "राष्ट्रिय गौरवको आयोजना" घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ । आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्डहरु कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुलहरुको निर्माण कार्य सम्पन्न भई सकेपिछ मध्यपहाडी क्षेत्र हुँदै पूर्व मेची देखि पश्चिम महाकालीसम्म नै निर्वाध रुपमा यातायात सञ्चालनमा आउने छ । तत् पश्चात यो सडक नेपालको सडक यातायात क्षेत्रमा मेरुदण्डको रुपमा स्थापित भई विकासका सबै सम्भावनाहरुको ढोका खोल्न कोसेढुङ्गा सावित हुने विश्वास लिईएको छ ।

            सडक सञ्जालको विकासलाई आत्मसात गर्दै, नेपालको मध्य पहाडी भूभागका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको सनतुलित विकास गर्ने अभिप्रायले तराईका जिल्लाहरु समेटेर निर्माण गरिएको पूर्व पश्चिम राजमार्ग जस्तै पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङ (नेपाल भारत सिमाना) देखि पश्चममा बैतडी जिल्लाको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब १८७९ कि.मि. लम्बाईको वैकल्पिक राजमार्ग निर्माण गर्ने उदेश्यका साथ नेपाल सरकारको आन्तरिक श्रोतबाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आ.व. २०६४/०६५ देखि मध्य पहाडी राजमार्ग आयोजना सञ्चालनमा रहेको छ । तत् पश्चात पूर्वी खण्डको लागि फदिम र पश्चिम खण्डको लागि दाङमा आयोजना कार्यालय स्थापना गरी निर्माण कार्य सुचारु भई रहेकोमा नेपाल  सरकार मन्त्रीपिरषदको मिति २०७५।०७।२५ को निर्णय अनुसार पूर्वी तथा पश्चिम खण्ड खारेज भई केन्द्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय (२०७५।०८।१९) र सो अन्तर्गत पाँच वटा खण्ड ( पाँचथर, धुलिखेल, गोर्खा, पर्वत र दैलेख) मा योजना कार्यालय स्थापना भएकोमा मिति २०७५।०८।१९ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, दैलेख सञ्चालनमा रहेको छ ।

योजनाको कार्यक्षेत्रः रुकुम (पूर्व) , रुकुम (पश्चिम), जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला ।

रुकुम पूर्व देखि अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करीब ४४० कि.मि. सडक आ.व. ०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।