"पाँचथरको हेंवा खोलामा ७० मिटर मोडुलर पुल ११ दिनमै सफलतापूर्वक जडान"
२०८२ साउन ३०
पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ्ग गाउँपालिका जोड्ने मेची राजमार्गको कि.मि. १९२+८०० मा पर्ने हेंवा खोलामा २०८० असार २ गतेको बाढीले पक्की पुल बगाए पश्चात् निर्माण गरिएको ५० मि. लम्बाईको बेली ब्रिज समेत गत बर्ष २०८१ असोज १२ को बाढीले बगाए पछि सडक विभाग अन्तर्गतको सडक डिभिजन इलामबाट ७० मि. लम्बाईको बेली ब्रिज जडान गर्ने कार्यको लागि ठेक्का व्यवस्थापन भएको थियो। नेपाल कै सबैभन्दा लामो र यस किसिमको पहिलो पुल निर्माण गर्ने क्रममा मिति २०८२ जेष्ठ ३१ गते अकल्पनीय दुर्घटना हुँदा पुल भाँचिन गई ३ जना मजदुरहरुको दु:खद निधन एवम् अन्य ३ जना गम्भीर घाइते भएका थिए।यसबाट पाँचथर जिल्लाको ठूलो भूभाग एवम् पुरै ताप्लेजुंग जिल्ला राष्ट्रिय यातायात सञ्जालबाट विच्छेद हुन सक्ने अवस्था सिर्जना भएकोमा सडक विभागले पेनस्टक पाइप र ह्युम पाइप प्रयोग गरी डाइभर्सन तयार गर्नुका साथै सोको निरन्तर मर्मत सम्भार गरी उक्त डाइभर्सनबाट यातायात संचालन गर्दै आएको सबैलाई विदितै छ। सडक विभागले श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत् भारत सरकार समक्ष क्षतिग्रस्त मोडुलर ब्रिजका सामानहरुको उपलब्धताका लागि पहल गरेको थियो र नेपाल सरकारको उक्त अनुरोधलाई उच्च प्राथमिकता दिंदै भारतीय पक्षबाट तुरुन्त सामान प्राप्त भई गत श्रावण १७ गतेबाट हेंवा खोला मोडुलर पुल जडान कार्य शुरु गरिएकोमा श्रावण २८ गते (जम्मा ११ दिनमा) पुल जडानको सम्पूर्ण कार्य सम्पन्न भएको छ। श्रावण २८ गते नै भारवहन क्षमता परिक्षण (Load Test) गर्ने कार्य समेत सफलता पुर्वक सम्पन्न भएको छ। अब एप्रोच सडक, सडक सुरक्षाका कार्यहरु सम्पन्न भएपश्चात् बढीमा ५-६ दिनभित्र सम्पूर्ण रुपमा यातायात संचालन गरिने व्यहोरा समेत जानकारी गराइन्छ। यसपटक पुल जडान गर्न भारतीय पक्षले Launching Set प्रदान गर्नुका साथै १८ जनाको जडान टोली समेत पठाएको थियो। करिव दुई महिना अगाडि भएको दुखद दुर्घटनापश्चात् पुललाई पुन: खोल्ने कार्य (Disassembling) का लागि आवश्यक जनशक्ति प्राप्तिका लागि गर्नु परेको अथक मेहनतबाट पाठ सिक्दै सडक विभागले सम्भवत: इतिहासमै पहिलो पटक “On the Job Training on Modular/Bailey Bridge Installation” नामक १० दिने कार्यस्थलमा आधारित तालिम हेंवा खोला, पाँचथरमा विभागमा कार्यरत ३२ जना इन्जिनियर, सब-इन्जिनियर, मेकानिक र अपरेटरहरुलाई प्रदान गरेको थियो।यसबाट सडक विभाग मोडुलर/बेली ब्रिज जडानमा छिट्टै आत्मनिर्भर हुने अपेक्षा गरिएको छ। निर्माण कार्यमा दुर्घटनाहरु हुनु स्वाभाविक नै भए तापनि त्यसबाट पाठ सिकेर पुन: उभिनु नै महत्वपुर्ण हुन्छ।यस पटक सडक विभागले आफ्नो पूर्ण सामर्थ्यको प्रयोग गरेर दुई महिना भन्दा कम अवधीमा पुल निर्माण कार्य सम्पन्न गरेको छ। यस उत्कृष्ट कार्यका लागि म सडक डिभिजन इलाम, Garden Reach Ship Builders and Engineers (GRSE) को जडान टोली एवम् सम्बन्धित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु। यसका साथै भारत सरकार, भारतीय राजदुतावास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार एवम् सम्पूर्ण सहयोगी हातहरुप्रति सडक बिभाग विशेष आभार प्रकट गर्दछु। सडक विभागले निकट भविष्यमा नै उक्त स्थानमा पक्की पुल बनाउने कार्यको पनि तयारी भईरहेको जानकारी गराउँदै पुलको तोकिएको क्षमता भन्दा बढी भार नबोकी दिनुहुन समेत सम्बन्धित सबैमा सडक विभाग अनुराेध गर्दछ ।




