सडक विभागद्वारा बेली ब्रिज जडान कार्यमा आत्मनिर्भर हुन बिशेष तालिम सुरु (मिति २०८२।०४।१८)
२०८२ साउन १८
आगामी दिनहरूमा मोडुलर/बेली ब्रिज लञ्चिङमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ, सडक विभागले "On the Job Training on Modular/Bailey Bridge Installation" नामक कार्यस्थलमै आधारित तालिम कार्यक्रम आज मिति 2082/04/18 गतेदेखि फिदिम, पाँचथरमा शुरु गरेको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, दमकका सुपरिन्टेन्डिङ्ग इन्जिनियर श्री विनोद कुमार मौवारबाट समुद्घाटन गरिएको उक्त उद्घाटन सत्रमा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो। यस तालिममा सडक बिभागका ३० जना प्राविधिकहरुले भाग लिने छन्।
गत जेष्ठ ३० गते जडानको अन्तिम अवस्थामा पुगेको अवस्थामा हेवा खोला मोडुलर ब्रिजमा अकल्पनीय दुर्घटना भई भाँचिन पुगेको थियो। उक्त दुर्घटना पश्चात् भाैतिक पूर्मवाधार तथा यातायात मन्त्रालय, सडक विभागको अथक पहल पश्चात् क्षति भएका मोडुलर ब्रिजका सामानहरु पुन: भारतबाट मगाई साथमा लन्चिङ्ग सेट समेत झिकाइएको थियो। नेपालमा पहिलो पटक बन्न लागेको ७० मि. लामो मोडुलर ब्रिज जडान गर्न यस पटक निर्माता कम्पनीकै Erection Team झिकाइएको छ। सडक विभागको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त भारतीय जडान टोलीबाट Technology Transfer हुने, आधारभूत सैद्दान्तिक ज्ञानका साथै तालिममा सहभागी प्राविधिकहरूलाई प्रत्यक्ष रुपमा ब्रिज जडानको फिल्ड कार्य सिकाइनेछ, जसबाट भविष्यमा देशभर यस्ता संरचनाहरू निर्माण गर्दा दक्ष जनशक्ति सहज रुपमा परिचालन गर्न सकिने अपेक्षा गरिएको छ।



